रसुवा— रसुवा र नुवाकोट जिल्लाको सिमानामा अवस्थित पवित्र धार्मिक तीर्थस्थल बेत्रावतीस्थित उत्तरगयाधाममा पुसे औँसीका अवसरमा श्राद्ध गर्न आउने श्रद्धालुहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ ।
श्रद्धालुहरूका लागि निःशुल्क भोजन खुवाउने व्यवस्था पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौं, उत्तरगया गाउँपालिका, विदुर नगरपालिका तथा विदुर नगरपालिकाका वडा नम्बर १ र ७ ले संयुक्त रूपमा गरेका हुन् । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं स्वयम्भू, लायन्स क्लब अफ काठमाडौं ब्लड सोसियल सर्कल नर्थ, लायन्स क्लब अफ काठमाडौं शुभकामना, उत्तरगया क्षेत्र विकास कोष तथा नेपाल स्काउट रसुवाले सहयोग गरेका छन् । पञ्चधाम सेवा केन्द्र नेपाल काठमाडौंका सचिव झंकनाथ न्यौपानेका अनुसार करिब ६ हजार श्रद्धालु तथा भक्तजनहरूले निःशुल्क भोजन गरेका छन् ।
पुसे औँसीका दिन उत्तरगयाधाममा प्रत्येक वर्ष हजारौँ श्रद्धालुहरूले दिवंगत आफ्ना पितृको नाममा श्राद्ध, दान तथा तर्पण अर्पण गर्ने परम्परा रहिआएको छ। त्रिशूली र फलाखु खोलाको संगमस्थलमा अवस्थित यस तीर्थस्थलमा यस वर्ष पनि टाढा–टाढाबाट आएका भक्तजनहरूले नदी किनारमा बाबु–आमा तथा आफन्तको स्मरणमा श्राद्ध गरेका छन् । उत्तरगयाधाममा पितृको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृले मोक्ष प्राप्त गरी स्वर्गलोक प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास रहिआएको छ।
