रसुवा— जिल्लाको उत्तरगया गाउँपालिका–५ बनुवाछापमा रहेको कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
शनिबार सम्पन्न संस्थाको ३१ औँ वार्षिक साधारणसभाले शेयर सदस्यहरूलाई १० प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ६९ लाख ३३ हजार ८ सय ८ रुपैयाँ आम्दानी गरेको सहकारीका व्यवस्थापक गोविन्द घिमिरेले बताए । कुल आम्दानीबाट खर्च कटौती गर्दा ३१ लाख २७ हजार २ सय ३० रुपैयाँ खुद नाफा आर्जन कायम भएको हो । सहकारीका सचिव टंकप्रसाद पौडेलका अनुसार खुद नाफामध्ये १७ लाख २२ हजार रुपैयाँ शेयर सदस्यहरूलाई लाभांशका रूपमा वितरण गरिएको छ । हाल संस्थामा २ हजार १ सय ९७ जना शेयर सदस्य आबद्ध छन् ।
सहकारी संस्थाको वार्षिक कारोबार ११ करोड ८७ लाख ६३ हजार रुपैयाँ रहेको छ । कुल बचत रकम ६ करोड ५९ लाख ७० हजार रुपैयाँ र शेयर पूँजी १ करोड ३१ लाख २९ हजार ३ सय रुपैयाँ पुगेको छ । जिल्लामा सहकारी संस्थाहरू बन्द हुने क्रम बढिरहेका बेला कालिका बहुउद्देश्यीय सहकारी भने निरन्तर नाफामा रहँदै आएको छ ।
२०५३ सालमा आलुवाली समूहका रूपमा सुरु भएको यो संस्था ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजीलाई एकीकृत गर्दै कारोबार विस्तार गरेपछि बहुउद्देश्यीय सहकारीका रूपमा रूपान्तरण भएको हो।
साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद घिमिरेले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष यमनाथ आचार्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक लक्ष्मण घिमिरेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरे।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले सहकारीले राम्रो आम्दानी गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्न सफल भएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गर्न शुभकामना व्यक्त गरे। साधारणसभामा विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याएका शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।
