रसुवा— चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्न भएको छ ।
गत असार २४ गते चीनतर्फको लेन्देखोलामा आएको भीषण बाढीले नेपाल–चीन व्यापारिक मार्गअन्तर्गत रहेको मितेरी पुल बगाएपछि दुई देशबीचको आवागमन तथा व्यापार साढे पाँच महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त स्थानमा बेलीब्रिज निर्माण सम्पन्न गरिएको हो ।
रसुवागढीमा निर्माण गरिएको बेलीब्रिज आइतबारदेखि सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै नाका पनि औपचारिक रूपमा खुला भएको छ। यद्यपि, हालका लागि सीमापार ढुवानीमा संलग्न रसुवाका प्रवेश पास प्राप्त सवारी चालक तथा केरुङमा व्यापार गर्दै आएका जिल्लाबासीलाई मात्र चीनतर्फ प्रवेश अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
नाका सञ्चालनमा आए पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने छैनन् । चिनियाँ पक्षबाट प्राप्त जानकारीअनुसार जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी पन्थीले बताए ।
