रसुवा— जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित मिनी गोसाइँकुण्ड क्षेत्रमा १०८ वटा कलात्मक धारा तथा गोसाईद्वार निर्माण हुने भएको छ ।
लामा तथा झाँक्रीद्वारा विधिवत् पूजा–पाठ गरी शनिबारदेखि धारा र गोसाईद्वार निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो । पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्ड जाने प्रमुख पदमार्गमा पर्ने यस क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले उक्त संरचना निर्माण गर्न लागिएको आयोजकले जनाएको छ ।
धुन्चे युवा समाजको आयोजना तथा स्थानीय बासिन्दाको जनसहभागितामा १०८ धाराको निर्माण थालिएको धुन्चे युवा समाजका सदस्य सन्तोष घलेले जानकारी दिए । उनका अनुसार गोसाइँकुण्डबाट बग्ने त्रिशूली नदीकै पानी प्रयोग गरी मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था मिलाइनेछ ।
धाराहरू निर्माणका लागि करिब ५१ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । हालसम्म स्थानीय बासिन्दाको आर्थिक सहयोगबाट निर्माण कार्य सुरु गरिएको छ भने निर्माण सम्पन्न नहुन्जेलसम्म प्रत्येक शनिबार स्थानीय बासिन्दाले जनश्रमदानमार्फत कामलाई निरन्तरता दिने निर्णय गरिएको धुन्चे युवा समाजले जनाएको छ ।
