नेपाली कांग्रेस रसुवा विशेष महाधिवेशनको पक्षमा

 

रसुवा— नेपाली कांग्रेस रसुवाले यही २७ र २८ गते काठमाडौँमा हुने विशेष महाधिवेशनको पक्षमा उभिने निर्णय गरेको छ ।

जिल्ला सभापति पेम्बा छिरिङ तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सक्रिय सहभागिता जनाउन अनुरोध गर्नु भएको हो ।

विज्ञप्तिमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूमाथि गहन विचार–विमर्श तथा विशेष अवधारणासहित महाधिवेशन आयोजना हुन लागेको उल्लेख गरिएको छ । रसुवा जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ ।

जनताको अपेक्षा र वर्तमान आवश्यकतालाई मध्यनजर गर्दै अझ सुदृढ, स्पष्ट र जनमुखी पार्टी निर्माण नै विशेष महाधिवेशनको मुख्य लक्ष्य रहेको विज्ञप्तिमा जनाइएको छ । त्यसका लागि महाधिवेशन प्रतिनिधि, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई अनिवार्य रूपमा उपस्थित भई विशेष महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरिएको छ । रसुवा जिल्लामा कुल २५ जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था भए पनि हाल २ पद रिक्त रहेकाले २३ जना मात्र प्रतिनिधि रहेका छन् ।

यसैबीच, महाधिवेशन प्रतिनिधि उपेन्द्र लम्सालले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा विशेष महाधिवेशनमा जानु पार्टी हितविपरीत हुने धारणा व्यक्त गर्नुभएको छ । “म नियमित महाधिवेशनको पक्षमा छु, यही प्रक्रियाबाट नेतृत्व चयन हुनुपर्छ,” लम्सालले भन्नुभयो ।

तर जिल्ला सभापति पेम्बा छिरिङ तामाङका अनुसार रसुवाका बहुमत महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा रहेका छन् ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको