राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकालाई

रसुवा— जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १३ औँ जिल्ला–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ शुक्रबार कालिकास्थानमा सम्पन्न भएको छ ।

बैशाख ९ गतेबाट सुरु भएको प्रतियोगिता ११ गते सम्पन्न भएको हो । यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधि कालिका गाउँपालिकाले हात पारेको छ । कालिकाले विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्दै १९ स्वर्ण, १० रजत र ६ कास्य गरी कुल ३५ पदक जित्दै उपाधि जितेको हो ।

उत्तरगया गाउँपालिकाले १० स्वर्ण, १३ रजत र ७ कास्यसहित ३० पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ भने गोसाइकुण्ड गाउँपालिकाले ४ स्वर्ण, २ रजत र १६ कास्यसहित २२ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

आमाछोदिङ्मो गाउँपालिकाले २ स्वर्ण र १ कास्यसहित ३ पदक जितेको छ भने नौकुण्ड गाउँपालिकाले १ स्वर्ण, ११ रजत र १६ कास्य गरी २८ पदक प्राप्त गरेको छ । प्रतियोगितामा जिल्लाका पाँचवटै गाउँपालिकाबाट करिब ३०० खेलाडीको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले बैशाख ९ गते गरेकी थिइन् भने समापन बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले गरेका थिए ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ मा बागमती प्रदेश सभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति प्रमुख अशोक घिमिरे, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वुसाङ्बो घले, कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्याल, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको