रसुवा— रसुवा जिल्लामा एकै परिवारका तीन जना खेलाडी सम्मानित भएका छन् । कालिका गाउँपालिका–१ निवासी दावा तामाङ र उनका दुई छोरी दिया तथा दीक्षा तामाङलाई सम्मान गरिएको हो ।
जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १३औँ जिल्ला–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ को अवसरमा उनीहरूलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले जानकारी दिए । खेलकुदमार्फत जिल्लालाई चिनाउन सफल भएको योगदानको कदर गर्दै सम्मान गरिएको उनले भने ।
उनीहरूलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सम्मान गरेका थिए । कालिका गाउँपालिका–१ का वडा अध्यक्ष समेत रहेका दावा तामाङले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । उनले हालै सम्पन्न मन्जुश्री ट्रेल रेसको ८० किलोमिटर दूरीमा रजत पदक जितेका थिए ।
यस्तै, उनकी जेठी छोरी दियाले श्रीलंकामा सम्पन्न दक्षिण एसियाली कराते प्रतियोगिताको १४ वर्षमुनि उमेर समूहमा रजत पदक जितेकी थिइन् भने कान्छी छोरी दीक्षाले सोही प्रतियोगिताको १० वर्षमुनि उमेर समूहमा कांस्य पदक जितेकी थिइन् ।
