१२ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित

रसुवा— विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्न सफल रसुवाका १२ जना खेलाडी सम्मानित भएका छन् ।

जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित १३ औँ जिल्ला–स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा खेलकुद महोत्सव २०८३ को अवसरमा खेलाडीहरूलाई सम्मान गरिएको जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनले जानकारी दिए । खेलकुदमार्फत देश तथा जिल्लाको पहिचान स्थापित गर्न योगदान पुर्‍याएको कदरस्वरूप सम्मान गरिएको उनले बताए ।

सम्मानित खेलाडीमध्ये अन्तर्राष्ट्रिय स्तरमा स्वर्ण पदक जित्ने चार जना रहेका छन् । उनीहरूलाई बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सम्मान गरेका थिए ।

स्वर्ण पदक विजेताहरूमा २१औँ वादोकाई कराते अन्तर्राष्ट्रिय च्याम्पियनसिप २०२५ का विजेता उत्तरगया गाउँपालिकाका सजिन अधिकारी, अन्तर्राष्ट्रिय ओपन जुडो च्याम्पियनसिप २०२५ का विजेता सुनिल नगरकोटी, श्रीलंकामा सम्पन्न पाँचौँ खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका विजेता पासाङ ग्याल्जेन थोक्रा तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका विजेता नौकुण्ड गाउँपालिकाका अनुष्क घले रहेका छन् ।

त्यसैगरी, ‘मन्जुश्री ट्रेल रेस’ (८० किमी) मा रजत पदक जित्ने कालिका गाउँपालिकाका दावा तामाङ पनि सम्मानित भएका छन् । श्रीलंकामा आयोजित ‘फर्स्ट युथ साउथ एशियन कराते कप २०२५’ मा १४ वर्षमुनि समूहमा रजत पदक विजेता दिया तामाङ र १० वर्षमुनि समूहमा कास्य पदक विजेता दीक्षा तामाङ र १३औँ कोरियन एम्बासडर इन्टरनेशनल च्याम्पियनसिपअन्तर्गत तेक्वान्दो विधामा कास्य पदक विजेता कालिका गाउँपालिकाका सुदिप नेपालीलाई पनि सम्मान गरिएको छ ।

बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक जित्ने उदीयमान खेलाडीहरूलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा सुवास घले (कराते–कास्य), मनिषा तामाङ (एथलेटिक्स–कास्य), विवश वाग्ले (तेक्वान्दो–कास्य) र समिर वाइवा (कराते–कास्य) रहेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको