रसुवा—रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित पार्वती कुण्ड, गतलाङमा आइतबारदेखि ‘याक तथा चौँरी महोत्सव २०८३’ सुरु भएको छ ।
बैशाख १३ गतेदेखि १५ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने महोत्सवको प्रतिनिधिसभा सदस्य इन्जिनियर मोहन आचार्यले याक चिज काटेर उद्घाटन गरेका छन् ।
याक तथा चौँरीको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित स्थानीय पर्यटन, कला–संस्कृति तथा पशुपालन व्यवसायलाई टेवा पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवका अवसरमा उत्कृष्ट चौँरीपालक किसानलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । साथै, पालिकास्तरीय सांस्कृतिक प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ नगदसहित ३ केजी चिज, दोस्रोले २१ हजार ५ सय रुपैयाँ र २ केजी चिज, तेस्रोले १२ हजार ५ सय रुपैयाँ र १ केजी चिज तथा सान्त्वना हुनेले ५ हजार रुपैयाँ र आधा केजी चिज प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि टिम दर्ता शुल्क १ हजार रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, म्याराथन प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ र २ केजी चिज, दोस्रोले ६ हजार रुपैयाँ र १ केजी चिज, तेस्रोले ३ हजार रुपैयाँ र आधा केजी चिज तथा सान्त्वना हुनेले १ हजार रुपैयाँ र आधा केजी चिज प्राप्त गर्नेछन् । प्रतियोगिताको दर्ता शुल्क ५ सय रुपैयाँ रहेको महोत्सव मूल समितिका संयोजक तथा आमाछोदिङ्मो गाउँपालिका–३ का वडा अध्यक्ष सुरेन्द्र तामाङले जानकारी दिए ।
महोत्सवमा स्थानीय कलाकारसँगै राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैबीच, महोत्सव अवधिमा चौँरीजन्य परिकारको प्रदर्शनीका साथै भेडाको ऊनबाट घरेलु स्तरमै तयार गरिएका राडी, पाखी, गलैँचा, स्वेटर, टोपी तथा पटुकाजस्ता सामग्री बिक्रीका लागि राखिएका छन् ।
यस क्षेत्रका बासिन्दाको प्रमुख आयस्रोत कृषि तथा पशुपालन भएकाले महोत्सवले किसानलाई थप हौसला मिल्ने अपेक्षा गरिएको स्थानीय फुर्पुसिङ्गी तामाङले बताए ।
रसुवाको मौलिक पहिचान झल्काउने यस महोत्सवमा सहभागी भई स्थानीय उत्पादन तथा संस्कृतिको प्रवर्द्धनमा सहयोग पुर्याउन आयोजकले सबैमा हार्दिक निमन्त्रणा गरेको छ ।
