डिप बोरिङबाट रसुवामै पहिलो पटक पानी निकाल्न सफलता, कटुन्जेका स्थानीय उत्साहित

 

रसुवा— रसुवाको कालिका गाउँपालिका–३, कटुन्जेमा जिल्लामै पहिलो पटक डिप बोरिङ गरेर जमिनमुनिबाट पानी निकाल्न सफलता प्राप्त भएको छ । पहाडी क्षेत्रमा गरिएको यो नौलो प्रयास सफल भएपछि स्थानीय बासिन्दामा ठूलो उत्साह छाएको छ ।

करिब १ हजार २ सय ८० मिटर उचाइमा गरिएको डिप बोरिङबाट पानी निस्किएपछि अहिले २४ घण्टासम्म लगातार पानी तानेर परीक्षण गर्ने कार्य भइरहेको छ । बिहीबार बिहान ८ बजेदेखि परीक्षण सुरु गरिएको हो ।

कालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले आफ्नो कार्यकालमा तय गरिएको डिप बोरिङमार्फत पानी निकाल्ने लक्ष्य सफल भएकोमा खुशी व्यक्त गरेका छन् । परीक्षण सफल भएपछि थप आवश्यक संरचना निर्माण गरिने उनले बताए ।

सुख्खा रहेको उक्त क्षेत्रमा सिँचाइ तथा खानेपानीको वैकल्पिक स्रोतका रूपमा डिप बोरिङलाई लिइएको छ । बोरिङका क्रममा करिब ६० मिटर गहिराइमा पुग्दा नै पानी देखिएको थियो भने हाल १ सय ३५ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सम्पन्न भएको छ । ७० मिटर गहिराइदेखि निरन्तर पानी आउन सुरु भएको र अहिले जमिनमुनिबाट ठूलो फोहरासहित पानी निस्किरहेको छ ।

डिप बोरिङ कार्यमा संलग्न प्राविधिक पप्पु विकले प्रारम्भिक परीक्षणमै आयोजना सफल देखिएको बताए । “ड्रिल गरिएको स्थानबाट पर्याप्त मात्रामा पानी आउने देखिएको छ । दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने सम्भावना उच्च छ,” उनले भने ।

जिल्लामै पहिलो पटक पहाडी क्षेत्रमा गरिएको यो प्रयास हेर्न कटुन्जेका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । सिँचाइका लागि वर्षाको भर पर्नुपर्ने र खानेपानीको समस्या झेलिरहेका स्थानीयहरू जमिनमुनिबाट पानीको फोहोरा निस्किएपछि अत्यन्त उत्साहित भएका छन् ।

यस सफलताले जिल्लाका अन्य सुक्खा क्षेत्रमा पनि डिप बोरिङ प्रविधि प्रयोग गर्न सकिने आशा जगाएको स्थानीयवासीले बताएका छन् । कटुन्जेमा निकालिएको पानीले आगामी दिनमा खानेपानी तथा सिँचाइको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

डिप बोरिङ कार्यका लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, काभ्रेपलाञ्चोकको २७ लाख रुपैयाँ सहयोग रहेको छ । वडा नम्बर ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद न्यौपानेले डिप बोरिङमार्फत जमिनमुनिको पानी निस्किएको आफ्नै आँखाले देख्दा अत्यन्त खुशी लागेको बताउँदै यसलाई महत्वपूर्ण उपलब्धिको रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको