रसुवा— उत्तरगया गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक भिडियो एक्स–रे प्रविधिमार्फत पशुहरूको स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरेको छ ।
पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको शिविरमा पशुहरूको बाँझोपन, पाठेघरको सङ्क्रमण, डिम्बाशयमा पानीका फोका लगायतका समस्या पहिचान गरी उपचार गरिएको हो । भिडियो एक्स–रे प्रविधिबाट पशुहरूको गर्भ परीक्षण, राँगो वा साँढे खोजेको÷नखोजेको, किला काटी खाएको÷नखाएको अवस्था समेत परीक्षण गरिएको थियो ।
यसअघि पशुहरूमा देखिने बाह्य लक्षण तथा अनुमानका आधारमा मात्र रोग पहिचान गरिने गरिएकामा अहिले आधुनिक उपकरणमार्फत प्रत्यक्ष परीक्षण गर्न थालिएपछि किसानहरू उत्साहित बनेका छन् ।
पछिल्ला वर्षहरूमा पशुपालक किसानको सङ्ख्या घट्दै जान थालेपछि उत्तरगया गाउँपालिका पशु सेवा शाखाले पहिलो पटक विशेषज्ञ टोलीसहित प्रविधि प्रयोगमा ल्याएको हो । विशेषगरी वडा नम्बर ४ र ५ का दुग्ध उत्पादक किसानलाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा कर्मीडाँडा, लहरेपौवा, बेत्रावती र बनुवा गाउँमा पुगेर सेवा प्रदान गरिएको थियो ।
शिविरका क्रममा गाउँपालिकामा कार्यरत पशु सेवा प्राविधिकहरूलाई पनि भिडियो एक्स–रेमार्फत गर्भ परीक्षण, बाँझोपन पहिचान तथा उपचार विधिबारे अभिमुखीकरण गरिएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट स्थानीय पशु प्राविधिकहरू पनि उत्साहित बनेका छन् । गाउँपालिकाका पशु प्राविधिक शंकर घिमिरे र पुष्पराज जोशीले आधुनिक भिडियो एक्स–रे प्रविधिको प्रयोगबाट पशुहरूको रोग पहिचान र उपचार कार्य अझ प्रभावकारी तथा सहज बनेको बताएका छन् । उनीहरूले यस्तो प्रविधिले ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । शिविरमा ३५ भन्दा बढी पशुको परीक्षण गरिएको थियो ।
“मान्छेमा जस्तै पशुमा पनि भिडियो एक्स–रे प्रविधिबाट परीक्षण हुने कुरा पहिलो पटक थाहा पाएँ,” स्थानीय किसान शिवराज आचार्यले भने, “आफ्नै गोठमा यस्तो परीक्षण भएको देख्दा निकै अचम्म र खुशी लागेको छ उनले भने ।”
उत्तरगया गाउँपालिका–५ का वडा अध्यक्ष यमनाथ आचार्यले आधुनिक प्रविधिको प्रयोगले पशुपालन व्यवसायलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा गाउँपालिकाका सबै वडा तथा टोलसम्म यस्तो सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । गाउँपालिकाले आधुनिक प्रविधिको प्रयोगमार्फत पशुपालन व्यवसायलाई व्यवसायिक, उत्पादनमुखी तथा दिगो बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
