काठमाडौं— लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल ‘गाउँ पर्यटन दूत’ नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई ‘गाउँ सद्भावना दूत’को जिम्मेवारी प्रदान गरेको हो ।
पत्रकारिता, लेखन तथा पर्यटन क्षेत्रमा सक्रिय सिलवाल यसअघि उक्त संस्थाको सल्लाहकारको भूमिकामा रहेका थिए । ग्रामीण पर्यटन प्रवर्द्धन, साहित्य तथा यात्रामार्फत नेपाली संस्कृति र भूगोललाई चिनाउन योगदान पुर्याएको भन्दै उनलाई गाउँ पर्यटन दूत नियुक्त गरिएको बताइएको छ ।
सिलवालका एभरेस्ट: एन अनफिनिस्ड स्टाेरी, अप्प दीपाे भव:, ‘श्रीलंका लगायत कृतिहरू प्रकाशित छन् । उनी वृत्तचित्र निर्देशकसमेत हुन् । पछिल्लो समय सिलवाल हिमालयदेखि महासागरसम्मको अनुभव समेटिएको ‘एचटुओ नेपाल किताब यात्रा’ अभियानमा सक्रिय छन् । उक्त यात्रामार्फत उनका कृतिहरू देशका ७७ वटै जिल्लासम्म पु¥याउने अभियान सञ्चालन भइरहेको छ ।
सगरमाथाको यात्रालाई आधार बनाएर लेखिएको ‘एभरेस्ट: एन अनफिनिस्ड स्टोरी’ ले “गन्तव्यभन्दा यात्रा महत्वपूर्ण हुन्छ” भन्ने सन्देश दिन्छ भने ‘अप्प दीपाे भवः’ आत्मरूपान्तरण र चेतनाको यात्रामा केन्द्रित रहेको छ । ‘श्रीलंका स्मृति’ मा महासागर र हिमालयबीचको प्रकृतिगत एकरूपता प्रस्तुत गरिएको छ । यसअघि सिलवालले पशुपतिनाथदेखि लुम्बिनीस्थित मायादेवी मन्दिरसम्म ‘अप्प दीपाे भवः यात्रा’ समेत सम्पन्न गरेका थिए ।
