लाङ्टाङ ट्रेल रनः पुरुषतर्फ मिलन कुलुङ राई र महिलातर्फ अञ्जली गुरुङ प्रथम

रसुवा— रसुवा–नुवाकोट पर्यटन समाजको आयोजनामा शनिबार सम्पन्न दोस्रो संस्करणको ‘लाङ्टाङ ट्रेल रन’ प्रतियोगितामा पुरुषतर्फ सोलुखुम्बुका मिलन कुलुङ राई तथा महिलातर्फ काठमाडौंकी अञ्जली गुरुङ प्रथम भएका छन् ।

लाङ्टाङको क्याङजिनबाट सुरु भएको ३२ किलोमिटर दूरीको ट्रेल रनमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका–४ निवासी मिलन कुलुङ राईले २ घण्टा १६ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे । जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का धीरबहादुर बुढाले २ घण्टा १८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरे भने पाँचथरको फिदिम नगरपालिका–१४ का विशाल राई २ घण्टा २० मिनेट २ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए ।

महिलातर्फ काठमाडौंको दक्षिणकाली नगरपालिका–९ की अञ्जली गुरुङले ४ घण्टा ४५ मिनेट ३ सेकेन्डमा दौड पूरा गर्दै प्रथम स्थान हासिल गरिन् । नुवाकोटको शिवपुरी गाउँपालिका–७ की सुरक्षा तामाङ ४ घण्टा ५९ मिनेट ५३ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् भने अस्ट्रियाकी अन्ना लेनाले ५ घण्टा ९ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् ।

प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः एक लाख, ७५ हजार र ५० हजार रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । चौथो र पाँचौँ स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः २५ हजार र १५ हजार रुपैयाँ नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

खेलकुदमार्फत लाङ्टाङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । प्रतियोगिताले लाङ्टाङ क्षेत्रको प्राकृतिक सौन्दर्य, पदमार्ग तथा साहसिक पर्यटनलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले क्याङजिन पुगेर प्रतियोगिताको उद्घाटन गरेका थिए । समापन कार्यक्रममा बागमती प्रदेशसभा सदस्य रमेश महत, प्रदेशसभा सदस्य इन्द्र गौतम, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरे, गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महत, जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनलगायतले खेलकुद र पर्यटनको प्रवर्द्धनमा यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।

प्रतियोगितामा विदेशी धावकसहित १०० भन्दा बढी खेलाडीको सहभागिता रहेको रसुवा–नुवाकोट पर्यटन समाजका वरिष्ठ उपाध्यक्ष शिव लामिछानेले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको