आमाछोदिङ्मो गाउँपालिका–४ प्लास्टिकमुक्त वडा घोषणा

रसुवा— विश्व वातावरण दिवस २०८३ को अवसर पारेर रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४, गोलजुङलाई ‘प्लास्टिकमुक्त वडा’ घोषणा गरिएको छ ।

“Inspired by Nature. For Climate. For Our Future.” भन्ने मूल नारासहित आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले वडालाई औपचारिक रूपमा प्लास्टिकमुक्त घोषणा गरेका हुन् । कार्यक्रमको आयोजना डिभिजन वन कार्यालयले तथा समन्वय आमाछोदिङ्मो गाउँपालिका–४ वडा कार्यालय गोलजुङले गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य गोतामेले प्लास्टिकमुक्त वडा घोषणा मात्र पर्याप्त नभएको उल्लेख गर्दै समुदायले दैनिक जीवनमा प्लास्टिकको प्रयोग घटाउन सके मात्र यसको वास्तविक सार्थकता पुष्टि हुने बताए ।
विशेष अतिथि जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोककुमार घिमिरेले प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणका लागि व्यवहारिक परिवर्तन आवश्यक रहेको बताए । वातावरण संरक्षण तथा वातावरणमैत्री विकासका कार्यक्रमलाई निरन्तरता दिँदै प्लास्टिकको प्रयोग क्रमशः कम गर्दै लैजानुपर्नेमा उनले जोड दिए ।
डिभिजन वन कार्यालय रसुवाका डिभिजनल वन अधिकृत शम्भु तामाङले सभ्य समाज निर्माणका लागि स्वच्छ वातावरण र सरसफाइ अपरिहार्य रहेको बताए । घोषणा मात्र गरेर नपुग्ने भन्दै उनले प्लास्टिकको प्रयोग कम गर्न, फोहोरको उचित व्यवस्थापन गर्न तथा सफा र स्वस्थ वातावरण निर्माणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे ।
आमाछोदिङ्मो गाउँपालिका–४ का वडा अध्यक्ष धर्म तामाङले प्लास्टिकमुक्त वडा घोषणापछि यसको प्रभावकारी कार्यान्वयनमा सबै स्थानीयवासी जिम्मेवार बन्नुपर्ने बताए । उनले समुदायले व्यवहार परिवर्तन गरी प्लास्टिकका झोलाको सट्टा वैकल्पिक झोला प्रयोग गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रमका अवसरमा सरसफाइ व्यवस्थापनका लागि विभिन्न स्थानमा डस्टबिन वितरण गरिएको थियो भने प्लास्टिकको प्रयोग न्यूनीकरण गर्न स्थानीयलाई वैकल्पिक झोला पनि वितरण गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको