पार्वतीकुण्ड क्षेत्रमा रेन्बो ट्राउट माछापालन, कृषि र पर्यटन प्रवर्द्धनमा टेवा

रसुवा— रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित पार्वतीकुण्ड नजिकै रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ ।

स्थानीय युवा सुजन तामाङले कृषि तथा पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने उद्देश्यले तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने उक्त क्षेत्रमा व्यावसायिक माछापालन थालेका हुन् ।समुद्री सतहबाट करिब २ हजार ६ सय मिटर उचाइमा रहेको चिसोपानीमा करिब ६ हजार ट्राउट माछाका भुरा राखेर पालन सुरु गरिएको छ। हाल त्यहाँ १२ वटा रेसवे  निर्माण गरिएको छ । अहिलेसम्म करिब २५ लाख रुपैयाँ लगानी भएको तामाङले जानकारी दिए।

तामाङले करिब तीन वर्षअघि धुन्चेस्थित रेन्बो ट्राउट मस्य अनुसन्धान केन्द्रबाट भुरा ल्याएर माछापालन सुरु गरेका थिए । माछापालनसँगै उनले पार्वतीकुण्ड र गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटलसमेत सञ्चालन गरेका छन् । स्थानीयस्तरमै उत्पादन भएको ताजा ट्राउट माछाका परिकार उपलब्ध हुन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन् ।

उत्पादित माछा हाल स्थानीय बजारमै खपत हुने गरेको तामाङले बताए । “पर्यटकलाई स्थानीय उत्पादनका ताजा परिकार उपलब्ध गराउन सकेकोमा खुसी लागेको छ,” उनले भने । रेन्बो ट्राउट मस्य अनुसन्धान केन्द्र धुन्चेका प्रमुख महेन्द्र भण्डारीका अनुसार चिसो र स्वच्छ पानीको उपलब्धताका कारण उक्त क्षेत्र ट्राउट माछा उत्पादनका लागि उपयुक्त मानिन्छ । हिमाली वातावरण र प्राकृतिक सौन्दर्यका कारण यस क्षेत्रमा युवापुस्ताको आकर्षण बढ्दै गएको स्थानीयवासीहरू बताउँछन् ।

तामाङ सम्पदा मार्गअन्तर्गत पर्ने गतलाङ गाउँमा पछिल्लो समय होमस्टे सञ्चालनसमेत विस्तार हुँदै गएको छ । पार्वतीकुण्ड, गणेश हिमाल तथा मौलिक तामाङ संस्कृति अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै जाँदा गतलाङ क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।

स्थानीय युवा उद्यमीको यस प्रयासले कृषि, पर्यटन र रोजगारी प्रवर्द्धनमा योगदान पुर्‍याउनुका साथै हिमाली क्षेत्रमा सम्भावनायुक्त व्यवसायका रूपमा ट्राउट माछापालनलाई समेत नयाँ पहिचान दिलाएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको