विश्व रक्तदाता दिवसको अवसरमा कालिकामा ८२ जनाले गरे रक्तदान

रसुवा— “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ विश्व रक्तदाता दिवसको अवसर पारेर रसुवाको कालिका गाउँपालिकामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कालिका गाउँपालिकाको आयोजनामा तथा नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा र कालिका हिमालय एसएलसी २०५६ ब्याचको सहकार्यमा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

मानव जीवन बचाउने महान उद्देश्यका साथ आयोजित कार्यक्रममा स्थानीय युवा, जनप्रतिनिधि, समाजसेवी , कर्मचारी , सर्वसाधारण लगायत ८२ जनाले रक्तदान गरेको आयोजकले बताएको छ ।

रगत अभावका कारण बिरामीले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आयोजकले नियमित रक्तदान अभियानलाई निरन्तरता दिने जनाएको छ ।

कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङलगायत जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहभागी रक्तदाताहरूलाई गाउँपालिकाको तर्फबाट प्रशंसापत्र प्रदान गरी सम्मानसमेत गरिएको थियो ।

कार्यक्रमले जिल्लामा स्वेच्छिक रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको