बेइजिङ (चीन)— ७३ औँ सगरमाथा दिवसको अवसरमा चीनको राजधानी बेइजिङमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीनका ५३ जना सगरमाथा आरोही सम्मानित भएका छन्।
बेइजिङस्थित नेपाली दूतावासले शुक्रबार साँझ आयोजना गरेको ‘नेपाल–चीन सगरमाथा (माउन्ट एभरेस्ट) एड्भेन्चर फेस्टिभल’ मा २९ जना चिनियाँ र २४ जना नेपाली आरोहीलाई सम्मान गरिएको हो। पूर्व सभामुख इन्दिरा राना मगर तथा नेपाली दूतावासकी कार्यवाहक राजदूत रोशन खनालले सम्मानपत्र प्रदान गरेका थिए।
नेपालको पर्वतीय पर्यटन प्रवर्द्धन तथा नेपाली र चिनियाँ पर्वतारोहण तथा पर्यटन व्यवसायीबीच सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रायोजक संस्था कैशास गियर तथा सहयोगी संस्थाहरू नेपाल पर्वतारोहण संघ र साइनो नेपाल कल्चर एण्ड टुरिजम प्रमोशन सोसाइटीलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा कार्यवाहक राजदूत खनालले सगरमाथाको विश्वव्यापी महत्व, साहसिक पर्यटनको भावना तथा विश्व पर्वतारोहण समुदायको केन्द्रका रूपमा नेपालको भूमिकाबारे प्रकाश पार्दै यस्ता कार्यक्रमले नेपाल–चीनबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
प्रतिनिधिसभा सदस्य तथा सगरमाथा आरोही मिङ्मा ग्याबु शेर्पाले नेपाल–चीन पर्यटन सहकार्यलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याए। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर्गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकासका लागि दुई देशबीच संयुक्त पहल आवश्यक रहेको बताए।
कैशास गियरकी संस्थापक चु हाईयानले नेपाल र चीनका पर्यटन तथा पर्वतारोहण व्यवसायीबीच सहकार्य विस्तार गर्दै पर्वतीय पथप्रदर्शकहरूको क्षमता अभिवृद्धि र सुरक्षित तथा दिगो पर्वतीय पर्यटनको विकासमा योगदान पुर्याउने लक्ष्य रहेको बताइन्।
कार्यक्रममा नेपाली दूतावासका काउन्सिलर विवेक रिजालले नेपालको प्रमुख पर्यटकीय गन्तव्यबारे प्रस्तुति दिएका थिए। कीर्तिमानी नेपाली आरोही लाक्पा डेण्डी शेर्पा तथा चिनियाँ आरोही चाङ माओलिङ र लोरिकाशीले सगरमाथा आरोहणका अनुभव सहभागीहरूसँग साझा गरेका थिए।
उक्त अवसरमा नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको तस्बिर प्रदर्शनीसमेत गरिएको थियो। कार्यक्रममा चीनको परराष्ट्र मन्त्रालयका प्रतिनिधि, अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधि, विभिन्न मुलुकका कूटनीतिज्ञ, चिनियाँ पर्यटन व्यवसायी तथा नेपाली समुदायका सदस्यसहित करिब २०० जनाको सहभागिता रहेको थियो।
नेपालबाट नेपाल पर्वतारोहण संघ, नेपाल आरोहण सञ्चालक संघ, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ तथा आरोहण र पदमार्ग पर्यटनसँग सम्बन्धित दर्जनौँ कम्पनीका प्रतिनिधिहरू कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रमकै अवसरमा नेपाल र चीनका पर्यटन व्यवसायीबीच सहकार्य विस्तार गर्ने उद्देश्यले व्यवसायी–व्यवसायी (बीटुबी) नेटवर्किङ कार्यक्रमसमेत आयोजना गरिएको थियो।
