रसुवा— रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ करोड ९ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार आयोजित गाउँसभाको २०औँ अधिवेशनमार्फत आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्तुत गरिएको हो। गाउँपालिकाका अनुसार बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने कार्यक्रम तथा योजनाहरू बजेटमा समावेश गरिएको गाउँपालिकाले जनाइएको छ ।
समृद्ध गाउँपालिका निर्माण, प्रभावकारी सेवा प्रवाह तथा स्थानीय उत्पादनको प्रवर्द्धनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए । कृषि तथा पशुपालनमार्फत आयआर्जन वृद्धि, पर्यटन प्रवर्द्धन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको छ उनले भने ।
चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरूलाई निरन्तरता दिँदै अधुरा आयोजनालाई पूर्णता दिने र जनताका आधारभूत आवश्यकता सम्बोधन हुने गरी बजेट तर्जुमा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षमा उत्पादनमुखी कार्यक्रम, रोजगार सिर्जना, सामाजिक विकास तथा दिगो पूर्वाधार निर्माणमार्फत स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउने लक्ष्य लिएको छ।
