रसुवाले जित्यो १४ पदक, फुलकन्ट्याक कराते र जुडोमा दुई स्वर्ण

रसुवा— तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता–२०८३ मा रसुवा जिल्लाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, ८ रजत र ४ कास्यसहित कुल १४ पदक जित्न सफल भएका छन् ।

जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष विराज लोप्चनका अनुसार प्रतियोगिताका १२ खेल विधामध्ये रसुवाले कराते, फुलकन्ट्याक कराते, तेक्वान्दो, बक्सिङ र जुडोमा पदक जितेका हुन् । खेलाडीहरूले प्रदेशस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाको गौरव बढाएका छन् उनले भने ।

फुलकन्ट्याक करातेतर्फ रमित महर्जनले स्वर्ण पदक जित्दै रसुवालाई पहिलो स्वर्ण दिलाए । सोही विधामा सुप्रिया तामाङले रजत पदक जित्नुका साथै उत्कृष्ट खेलाडी घोषित हुँदै नगद २० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरिन् । तेस्तै जुडोतर्फ सुनिल नगरकोटीले स्वर्ण पदक जित्दै रसुवाको पदक संख्या बढाए । यसैगरी जुडोतर्फ नै भुवन थापा मगर र वीरबहादुर तामाङले रजत तथा सानुमाया तामाङले कास्य पदक हात पार्न सफल भइन् ।

जिल्लाले कराते, तेक्वान्दो र बक्सिङमा पनि सफलता हात पारेको छ । करातेतर्फ दिपा स्याङ्बाले रजत तथा पासाङ ग्याल्जेन थोक्राले कास्य पदक जिते । तेक्वान्दोतर्फ सन्जय तामाङ (८० केजी), मेनुका तामाङ (५३ केजी) र निस्मा तामाङ (–७३ केजी) ले रजत पदक जिते भने कल्पना तामाङ (+७३ केजी) ले कास्य पदक हात पारिन् भने बक्सिङतर्फ दिव्या लिम्बुले रजत तथा फुङ्लङ कम्बङ कास्य पदक जित्न सफल भए ।

खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण तथा सरोकारवालाको सहयोगका कारण रसुवाले प्रदेशस्तरीय प्रतियोगितामा सम्मानजनक नतिजा हासिल गरेको अध्यक्ष लोप्चनले बताए । उनले आगामी दिनमा खेलाडीहरूलाई थप प्रशिक्षण, प्रोत्साहन र अवसर उपलब्ध गराउन सके राष्ट्रियस्तरमा समेत रसुवाले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको