रसुवामा पहिलो पटक ड्रोनबाट वनस्पति र घाँसका बीउ छरियो

रसुवा— रसुवामा पहिलो पटक ड्रोन प्रविधिमार्फत वनस्पति र घाँसका बीउ छर्ने कार्य सुरु गरिएको छ ।

डढेलोबाट उजाड बनेको वन क्षेत्रलाई पुनः हरियाली बनाउने उद्देश्यले सोमबार आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङ गाउँमाथिको ज्यार्सा गोठिन सामुदायिक वनमा ड्रोनमार्फत बीउ छरिएको हो ।

सामुदायिक वनको सक्रियता तथा डिभिजन वन कार्यालय रसुवाको आयोजनामा  पहिलो वर्ष १०० केजी बीउ छर्ने लक्ष्य राखिएको छ । प्रतिकूल मौसमका कारण पहिलो दिन २० केजी बीउ मात्र छर्न सकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

डिभिजन वन कार्यालय रसुवाका प्रमुख शम्भु तामाङका अनुसार स्थानीय हावापानीअनुकूल सल्लो, धुपी लगायतका वनस्पतिका बीउसँगै राई घाँस र ह्वाइट क्लोभरजस्ता घाँसका बीउ पनि मिसाएर छरिएको छ । “वन पुनर्स्थापनासँगै खर्क व्यवस्थापनलाई समेत प्रभावकारी बनाउने उद्देश्यले वनस्पति र घाँस दुवैका बीउ छरेका हौँ,” उनले भने ।

विसं २०६५ मा भीषण डढेलोका कारण यस क्षेत्रमा सल्ला, लालीगुराँस, धुपी, खस्रुलगायत हजारौँ वनस्पति नष्ट भएका थिए । दुर्गम भौगोलिक अवस्था र कठिन भू–भागका कारण परम्परागत रूपमा बिरुवा रोप्न चुनौती भएपछि आधुनिक ड्रोन प्रविधिको प्रयोग गरिएको हो । डढेलोबाट प्रभावित ४५५ हेक्टर क्षेत्रमध्ये पहिलो चरणमा ३० हेक्टर जमिनमा बीउ छर्ने योजना रहेको छ । यो अभियान लगातार तीन वर्षसम्म सञ्चालन गरिने वन कार्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईले ड्रोन प्रविधिबाट बीउ छर्दा समय, श्रम र लागत बचत हुने बताए । “डढेलोपछि माटोको उमार शक्ति कमजोर हुने भएकाले बीउमा आवश्यक पोषक तत्वसमेत मिसाएर छरिएको छ । यसले बिरुवा उम्रने सम्भावना बढाउँछ,” उनले भने ।

अभियानमा त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान र वन तथा भू–संरक्षण विभागको प्राविधिक सहयोग रहेको छ। वन कार्यालयका अनुसार डढेलोबाट करिब १६ हजारभन्दा बढी सल्ला तथा अन्य बहुमूल्य प्रजातिका रुख नष्ट भएका थिए । त्यसयता पुनःस्थापनाअन्तर्गत ३० हजार भन्दा बढी बिरुवा रोपिएको छ भने ती बिरुवाको संरक्षणका लागि तारबारसमेत गरिएको छ । ड्रोनमार्फत बीउ छर्ने यो नवीन अभ्यासले डढेलो प्रभावित वन क्षेत्रको पुनःस्थापनामा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको