शब्द/तस्बिर : बलराम घिमिरे
रसुवा — नीलो आकाशमुनि सेता र अग्ला हिमाल, हिमाल फेदीमा फराकिला हरियाली मैदान, बीचबाट निरन्तर बगिरहने साङ्जेन खोलो, अनि वरिपरि गणेश, साङ्जेन हिमाल र पाल्दोर पिक— यी सबै दृश्य साङ्जेन खर्क, अर्थात् साङ्जेन उपत्यकामा पुग्ने जो–कोहीले देख्ने र मनमोहक अनुभव गर्ने सौन्दर्य हुन्।
‘आहा! के सुन्दर ठाउँ!’ — साङ्जेन खर्क पुगेका प्रत्येकको मुखबाट निस्कने पहिलो शब्द प्रायः यस्तै हुन्छ।
नेपाल–चीन सीमानामा फैलिएको यस उपत्यकाको आधा भूभाग नेपालमा र आधा तिब्बतमा पर्छ। वरिपरि कुनै मानव बस्ती नभएकाले यसलाई मान्छेले नछोएको स्वर्ग पनि भनिन्छ।
धुन्चेदेखि चिलिमेस्थित तातोपानीसम्म करिब १४ किलोमिटर यात्रा सवारीसाधनमा गर्न सकिन्छ। त्यहाँबाट एक दिनको पैदल उकालोपछि साङ्जेन उपत्यका पुगिन्छ। यात्रा साङ्जेन खोलाको किनारैकिनार हुन्छ। कतै बाटो भत्किएको, कतै बाटो नै नभएको कारण यात्रुहरूले कतिपय स्थानमा तिब्बती बाटो प्रयोग गर्नुपर्छ।

वर्षायाममा उपत्यकामा भेडी र चौरीका गोठ भेटिन्छन्, जहाँ पदयात्री बस्न सक्छन्। तर हिउँदमा गोठ नभएकाले खान–बस्ने व्यवस्था यात्रुहरूले आफैं मिलाउनुपर्छ।
उपत्यकाबाट दोस्रो दिनको पदयात्रामा माथिल्लो र तल्लो गरी दुईवटा डिल्पु कुण्ड पुग्न सकिन्छ। यो क्षेत्र जडीबुटीको खानीसमेत हो। कुटकी, जटामसी, सर्पगन्धा, पाँचऔंले, पदमचालसहितका बहुमूल्य जडीबुटी यहाँ पाइन्छन्।
साङ्जेन भ्यालीलाई नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताए।

