नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी, अनुभवी प्यानलबाट प्रतिस्पर्धा

काठमाडौं — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी कार्यकाल (२०२६–२०२८) का लागि महासचिव पदमा पर्यटन व्यवसायी सुशील पन्तले उम्मेदवारी घोषणा गरेका छन् ।

उनी जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा रहेको समावेशी तथा अनुभवी प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका हुन्। पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी अनुभव संगालेका पन्त सेवा, समर्पण र सामाजिक उत्तरदायित्वलाई जीवनको मूल मन्त्र मान्ने व्यक्तित्वका रूपमा परिचित छन्। सामान्य पृष्ठभूमिबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनले निरन्तर मेहनत, अध्ययन र व्यावसायिक अनुभवका आधारमा आफूलाई सफल उद्यमीका रूपमा स्थापित गरेका छन्।

पन्त सन् १९९८ देखि पर्यटन व्यवसायमा सक्रिय रहँदै आएका छन्। यस अवधिमा उनले विभिन्न प्रतिष्ठित पर्यटन कम्पनीहरूको नेतृत्व गर्दै आएका छन्। अन्तर्राष्ट्रिय अनुभवसमेत हासिल गरेका उनले सन् २००९ देखि २०१२ सम्म अमेरिकाको न्यूयोर्कमा आफ्नो व्यवसायको शाखा कार्यालय सञ्चालन गरेका थिए। सो अवधि पश्चात नेपाल फर्किएर उनले व्यवसायलाई निरन्तर विस्तार गर्दै आएका छन्।
शैक्षिक क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय छ। उनले ‘प्रेसियस नेशनल कलेज’ का अध्यक्षका रूपमा सन् २००८ देखि २०२४ सम्म नेतृत्व प्रदान गरेका थिए।

पन्त सामाजिक क्षेत्रमा समेत पन्त सक्रिय रहँदै आएका छन्। शिक्षा, विपन्न वर्ग तथा फरक क्षमता भएका व्यक्तिहरूको सहयोगमा उनी निरन्तर संलग्न छन्। उनको योगदान प्रचारभन्दा बढी कार्यमुखी रहेको मानिन्छ। नाट्टाको आगामी निर्वाचनका लागि महासचिव पदका उम्मेदवारका रूपमा उनले पर्यटन क्षेत्रलाई डिजिटल, आधुनिक र प्रतिस्पर्धी बनाउने लक्ष्यसहित स्पष्ट कार्ययोजना अघि सारेका छन्। साथै, नाट्टालाई पारदर्शी, समावेशी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सुशील पन्तको उम्मेदवारीलाई पर्यटन क्षेत्रको रूपान्तरण तथा संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको